राष्ट्रिय

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ घाइते

- रुपा गहतराज नेपालगञ्ज

बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएका छन् ।

दाङबाट नेपालगन्ज आउँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दाङ तुलसीपुरका ६० वर्षीय मान बहादुर ओली र २४वर्षीय सहचालक सन्तोष भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

बिहीबार दाङबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार घाइते भएका मध्य २२ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।