राष्ट्रिय

चितवनमा डेङ्गी संक्रमणबाट १ जनाको मृत्यु

- रमेशकुमार पौडेलचितवन

लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमणका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको डेंगी संक्रमणका कारण मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

उनी ज्वरो आएर शुक्रबार चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । ती पुरुष मधुमेहको रोगबाट समेत पीडित बनेको र डेंगी संक्रमणले उनको स्वास्थ्यलाई थप गम्भीर बनाएको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो ।

योसंगै डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या ४ पुगेको छ । महाशाखाका अनुसार हालसम्म मुलुकभर डेंगी संक्रमितको संख्या ६ हजार ३ सय ४७ पुगेको छ । संक्रमण हुनेमा सबै भन्दा धेरै गण्डकी प्रदेशका छन् । गण्डकीमा २ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको हुम्ला बाहेक ७५ वटा जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।