राष्ट्रिय

सुगालामा पहिरो खसेपछि जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध

- वसन्तप्रताप सिंहबझाङ

बझाङको छविसपाथीभेरा गाउँपालिका–१, सुगालामा खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार साँझ आंशिक रुपमा खुलेको जयपृथ्वी राजमार्ग शनिबार बिहानदेखि फेरि अवरुद्ध भएको हो । 

ठाउँठाउँमा पहिरो खस्न थालेपछि सो राजमार्ग बुधबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको छ । बिहीबार बिहान ५ बजेतिर जयपृथ्वी राजमार्गको जालेबगरमा खसेको पहिरोले दिन भर सडक अवरुद्ध भएको थियो । 

यस्तै, शुक्रबार बिहान जालेबगर, बालुवाटार, भ्यागुते खोला लगायत ठाउँमा पहिरोका कारण साँझ अबेरसम्म सवारी साधन र यात्रुहरु सडकमै अलपत्र परेका थिए । सडक अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुवाहक गाडी र बाहिरी जिल्लाबाट भित्रिने सबै गाडी र यात्रु अलपत्र परेका छन् । 

दिनहुँ जसो सडक अवरुद्ध हुँदा यात्रुहरुले आवागमनमा निकै सास्ती झेल्नु परेको छ । सुगालाको पहिरो हटाउनका लागि डोजरले काम सुरु गरिसकेको भए पनि पहिरो झर्ने क्रम नरोकिएका कारण यातायात सञ्चालन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।