राष्ट्रिय

उड्न सकेन गिद्ध

- आश गुरुङलमजुङ

चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ घुमेर फर्किने क्रममा भक्तपुरकी मनिषा थापाले भदौ ८ गते लमजुङ सीमा म्यार्दी क्षेत्रमा एउटा गिद्ध भेटिन् । उनले काठमाडौं फर्किने क्रममा लमजुङको मर्स्याङदी गाउँपालिका ३, खुदीमा रहेको प्रहरीलाई गिद्ध बुझाइन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र भेटिएकोले प्रहरीले नजिकै सिम्पानी बगैंचामा रहेको पर्यटक चेकजाँच केन्द्रमा बुझायो । एक्यापका अनुसार हिमाली क्षेत्रमा पाइने यो गिद्द हिमाली गिद्ध हो । यो कम चासो तर, दुर्लभ प्रजातिमा गनिन्छ ।

यसलाई अंग्रेजीमा हिमालयन भल्चर भनिन्छ । यसको वैज्ञानिक नाम जिप्स हिमालयनसिस हो । यो वयस्क नभइसकेको (बचेरा) रहेको एक्यापले बताएको छ । एक्यापका पर्यटन सहायक बालकृष्ण घलेका अनुसार उड्न नसक्ने अवस्थामा गुँडबाट खसेको हुनसक्छ । ‘केहीले यही क्षेत्रमा एउटा गिद्धा मरेको भनिरहेका छन्,’ घलेले भन्नुभयो, ‘यदि त्यसो हो भने त्यो गिद्ध यसको माउ हुन सक्छ ।’

उहाँका अनुसार मर्स्याङ्दी गाउँपालिका पशु विकास शाखाका डाक्टरसहितका प्राविधिक तथा गिद्धको उपचार गराइरहेका चिकित्सकसँगको परामर्शमा स्यहार गरिराखिएको छ । गिद्धलाई दैनिक आधा किलो कुखुराको मासु खुवाउने गरिएको छ ।

गिद्द तंग्रिन थालेपछि आइतबार प्रहरी, एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति, स्थानीयको रोहबरमा प्राकृतिक बासास्थानमा लगेर छाडियो । ‘अलि तंग्रिएपछि उड्ला जस्तो भयो’, उहाँले भन्नुभयो, ‘हामीले नजिकै बगैंचाको जंगलमा छोड्यौं । भोलिपल्ट (सोमबार) बिहान हेर्न जाँदा त्यहीँ रहेछ । उड्न सकेन । असुरक्षाको महसुस गरी कार्यालयमै ल्यायौं । अहिले यसैको पालनपोषण र स्यहारमा लाग्नु परेको छ ।’

एक्यापका वरिष्ठ रेन्जर वासुदेव न्यौपानले अहिले गिद्धको उमेर करीब २ महिना जतिको हुन सक्ने बताउनुभयो । ‘यहाँ राखेर नै ३ साता कट्यो । यसले उड्ने प्राक्टिस नै पाएन, त्यसैले उड्न सकिरहेको छैन’, उहाँले भन्नुभयो, ‘बुझ्दै जाँदा ३ महिनामा उड्नुपर्छ भन्छन् । अझै १ महिना राख्नुपर्ने होला ।’ उहाँका अनुसार सुरुमा राख्दा भन्दा अहिले ठूलो भएको छ । ‘सानैमा आमासँग छुट्टियो, उड्न सिकेन,’ न्यौपानेले भन्नुभयो, ‘आमा पनि मरेको भन्ने सुन्नमा आएको छ ।’ उहाँले गिद्ध अनुमानित ४ किलो रहेको बताउनुभयो ।

एक्याप इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले माउसँग छुट्टिएको अवस्थामा, आत्तिएको अवस्थामा भेटिएको बताउनुभयो । ‘यो गिद्ध चाइल्ड भल्चर रहेछ । हामीले ३ सातापछि प्राकृतिक बासास्थानमा छाड्यौं’, गुप्ताले भन्नुभयो, ‘तर, उडन सकेन । फेरि ल्याएर पालेका छौं ।’ 

उहाँका अनुसार १ महिना राखेमा उड्न सक्ने डाक्टरहरुको सुझाव छ । प्राकृतिक बासास्थानमै पठाउने या कहाँ पठाउने भन्नेबारे एक्यापको प्रधान कार्यालयसँग छलफल भइरहेको उहाँको भनाई छ । मस्याङ्दी गाउँपालिका पशु विकास शाखा प्रमुख पशु चिकित्सक डा. अञ्जु गुरुङले गिद्धको स्वास्थ्य अवस्था राम्रो रहेको सुनाउनुभयो ।

‘उड्न नसक्ने अवस्थामा भएपछि बिरामी हो कि भन्ने पनि भयो’, उहाँले भन्नुभयो, ‘हेर्दै जाँदा सानै रहेछ, बच्चा नै रहेछ भन्ने बुझियो । हामीले औषधि उपचार गरायौं ।’ उहाँका अनुसार बाहिर छोड्दा पनि उड्न नसक्ने भएपछि अहिले एक्यापले पुनः कार्यालयमै ल्याएर राखेको छ ।