राष्ट्रिय

चरेश सहित पर्साबाट एक भारतीय नागरिक पक्राउ

- शंकर आचार्यपर्सा

लागूऔषध चरेश तस्करीमा संलग्न एक भारतीयलाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका ४२ वर्षीय गोपाल गिरीलाई चरेशसहित प्रहरीले पक्राउ गरेको हो । 

उनलाई वीरगञ्ज महानगरपालिका–२ डम्पिङ साइड क्षेत्रबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो । 

लागूऔषध खरिद बिक्री भईरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतको इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको संयुक्त टोलीले २ किलो ९ सय ६० ग्राम चरेशसहित पक्राउ गरेको हो । 

गिरीलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट सो परिमाण बराबरको चरेश बरामद भएको डीएसपी भारतीले जानकारी दिनुभयो ।

गिरीलाई नियन्त्रणमा लिई उनीविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।