राष्ट्रिय

एन्फा महिला लिगः पुलिस र चन्द्रपुरबीच गोलरहित बराबरी, कर्णालीको पहिलो जित

- केएफएम डेस्क काठमाडौं

गोलकिपर उषा नाथले पेनाल्टी बचाएसँगै विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिग फुटबलमा हार टारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरी खेलेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् । खेलको ७० औं मिनेटमा चन्द्रपुरले पेनाल्टी पाएको थियो । तर, मनिषा राउतको प्रहार पुलिसकी उषाले ड्राइभ गर्दै बचाइन् । यो बराबरीसँगै पुलिसले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ । चन्द्रपुरको भने समान खेलबाट सात अंक छ ।

यसैबीच, आजै भएको अर्को खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० गोलले पराजित गरेको छ ।

जारी लिगमा कर्णालीको यो पहिलो जित हो । कर्णालीको जितमा भुमिका बुढाथोकी, गरिमा राई र वर्षा ओलीले एक÷एक गोल गरिन् । यो नतिजासँगैे ६ खेलबाट ४ अंक जोडेको कर्णाली पुछारबाट दोस्रो स्थानमा छ । अंकविहीन सुदूरपश्चिम पुछारमा छ । लिग अन्तर्गत भोली हुने खेलमा बाग्मती युथ क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।