राष्ट्रिय

मर्स्याङ्दीले नदीले बगाउँदा एक बालकको मृत्यु

- आश गुरुङलमजुङ

मनाङको नासों गाउँपालिका–१, तालगाउँमा मर्स्याङ्दी नदीले बगाउँदा बुधबार एक बालकको मृत्यु भएको छ । मकवानपुरको दामन गाउँपालिका–५, पालुङ घर भइ हाल मामाघर हजुरआमासँग बस्दै आएका ५ वर्षीया एरीस गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बुधबार मध्याहृन सवा १२ बजेतिर मर्स्याङ्दी नदी किनारमा खेलिरहेका बालकलाई मर्स्याङ्दी नदीले बगाएको भन्ने खबर आउनासाथ प्रहरी चौकी तालबाट असई लिलाबहादुर थापाको कमाण्डमा टोली खटिएको थियो । 

प्रहरी र स्थानीयले बगाएको ठाउँबाट करीब १ सय मिटर तलबाट बालकको उद्दार गरेर स्वास्थ्य चौकीमा पुर्‍याएका थिए । उपचारको क्रममा साढे १ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी निरीक्षक चिरञ्जीवी पाण्डेयको नेतृत्वमा प्रहरी खटिएको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल चामेतर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।