राष्ट्रिय

बाग्मती प्रदेश सभाको बैठक डेढ महिनापछि बस्दै

- सुवास विडारीमकवानपुर

बाग्मती प्रदेशसभा बैठक आज आइतबार दिउँसो १ बजे बस्दैछ । गत साउन १६ गते विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो । 

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा बैठक २ दिन (६ र ७ गते) सम्म सञ्चालन हुने जनाएको छ । 

सचिवालयमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा तय भएको कार्यसूची अनुसार आज बस्ने प्रदेशसभा वैठकमा विशेष समय र समितिबाट तयार भएको ३ वटा विधेयकका प्रतिवेदन पेस हुनेछन् । 

प्रदेशसभा बैठकमा दलीय हिसाबमा सांसदले ३ मिनेटमा आफ्नो धारणा राख्ने छन् । बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको २ वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा विधेयकको प्रतिवेदन सदनमा पेश गरिनेछ ।

शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।