'प्रदेश सभाबाट बनेका ऐनको कार्यान्वयनमा समस्या'
- हेटौंडाबाग्मती प्रदेशसभाबाट पारित भएका कानून कार्यान्यनमा सरोकारवालाहरुले जोड दिएका छन् । शनिबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा सहभागी र सांसदहरुले प्रदेशसभाबाट पारित भएका कानून कार्यान्यनमा जोड दिएका हुन् ।
बाग्मती प्रदेशसभाबाट पारित भएका कानून र यसको कार्यान्वयनको अवस्थाका विषयमा समितिका सभापति, सांसद र सरोकारवाका बिचमा अन्तरक्रिया कार्यक्रममा सहभागीले कानून जारी भएर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनु पर्ने बताएका हुन् ।
कार्यक्रममा बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, पूर्वमन्त्री तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठ, प्रदेशसभाका सदस्य भारती कुमारी पाठक, प्रेमबहादुर पुलामी, प्रभात तामाङले धेरै मेहनतका साथ कानून जारी गरीएको र यसको कार्यान्वयनमा आफूहरुले जोड दिने र निगरानी समेत गर्ने बताएका हुन् ।
कार्यक्रममा प्रदेश सरकारका कर्मचारी, कानून व्यावसायी, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगायतले प्रदेश सरकारले जारी गरेका ऐन र संघीय सरकारले पछि ल्याएका ऐन बाझिएकाले कार्यान्वयनमा समस्या भएको बताए ।
कार्यक्रममा बोल्दै बाग्मती प्रदेशसभा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले संसदीय समितिमा विधेयकमाथि पर्याप्त छलफल गर्ने गरेको दाबी गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले कानून बिना पनि मन्त्रालय चलिरहेको भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘कतिपय अवस्थामा संघीय कानूनको भरमा पनि प्रदेश मन्त्रालयहरु चलेका छन् ।’
कार्यक्रममा प्रदेशसभाका सदस्य भारती पाठकले भन्नुभयो, ‘विधेयकको मस्यौदादेखि नै स्वार्थ बाझिन्छ, अनि कानून संशोधनको क्रममा पनि त्यै हुन्छ । जनताको हितको लागि, तल्लो तहको आवश्यकतामा आधारित भएर विधेयक ल्याउने, कानून संशोधन गर्ने, यसको लागि सरोकारवाला अन्तरमन्त्रालय, समुदाय, बुद्धिजीवी वर्गसँग पर्याप्त छलफल नै हुँदैन, यो हामीले स्वीकार गर्नै पर्छ ।’