राष्ट्रिय

मर्स्याङ्दीमा गाउँमै बैंक खाता खोल्दै, योजना सम्झौता गर्दै

- आश गुरुङलमजुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले चालू आर्थिक वर्षमा कार्यान्वयन हुने योजनाको गाउँमै पुगेर बैंक खाता खोल्ने र योजना सम्झौता गर्ने गरेका छन् । तोकिएको समयमा योजना सम्झौता गरी तोकिएको समयमा योजना सक्न र गुणस्तरीय कायम गर्न गाउँपालिकाले यो उपाय अपनाएको हो । 

गाउँको योजनाको लागि बैंक खाता खोल्न र योजना सम्झौता गर्न गाउँपालिका कार्यालय र बैंक धाउन नपर्ने गरी कार्यक्रम अघि बढाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँको योजना सम्झौता गाउँमै गर्दा र बैंक खाता गाउँमै खोल्दा नागरिकले राहत महसुस गरेका छन् । ‘गाउँपालिका आउजाउ, बैंकमा आउजाउ, कागजात पुगनपुग गर्दा त उपभोक्तालाई समय र खर्चको चाप पर्छ,’ उहाँले भन्नुभयो, ‘यो चाप घटाउन हामी नै गाउँ पुगेका हौं ।’

उहाँका अनुसार जनप्रतिनिधि, कर्मचारी, बैंकका कर्मचारी गाउँ–गाउँ पुगेर बैंक खाता खोल्ने, योजना सम्झौता गर्ने गर्नुका साथै वडाका जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति र अनुगमन समिति संयोजकलाई अभिमुखिकरण गराइएको छ । 

मर्स्याङ्दी गाउँपालिका–२ का कृष्णबहादुर विकले गाउँपालिका जाने, बैंकमा जाने बैंक खाता खोल्ने, योजना सम्झौता गर्ने झन्झट हटेको बताउनुभयो । ‘एक दिन बैंक जाउ । अर्को दिन पालिका जाउ । कागजात पुगेन भने फर्के आउ । झन्झट थियो,’ विकले भन्नुभयो,’ गाउँमै आएपछि त सवै झन्झट हट्यो । कागजात नपुगेको पनि तुरन्तै बनाउन पाइयो ।’

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाका ९ वटा वडामध्ये वडा नं. २, ३, ६, ७, ८ र ९ मा यो कार्यक्रम सकिएको छ । बैंक खाता खोल्ने लगायत कार्यका लागि उपभोक्ता समितिका पदाधिकारीको फोटो आवश्यकता अनुसार गाउँपालिकाकै सूचना प्रविधि अधिकृत समेत गाउँमा गएर फोटो खिच्ने र फोटो निकालेर बैंक खाता खोल्ने र योजना सम्झौताको काम गर्ने कार्य भइरहेको उहाँको भनाई छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंका अनुसार चालू आर्थिक वर्षमा वडामा कार्यान्वयन हुने २ सय ४८ योजनामध्ये हालम्म १ सय ६५ वटा योजनाको बैंक खाता खोल्नुका साथै योजना सम्झौता गरिसकिएको छ । ‘योजना सम्झौताको लागि बैंक खाता खोल्नेदेखि आवश्यक सवै प्रक्रिया गाउँमै गएर गरेका छौं’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन गरेको बजेट तथा कार्यक्रम कार्यान्वयनमा उपभोक्तालाई सहजता प्रदान गर्न गाउँपालिकाले अभिमुखिकरण कार्यक्रमसहित गाउँमै बैंक खाता खोल्ने र योजना सम्झौता गरेको हो । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति, कर्मचारी र अनुगमन समितिका संयोजकले गर्नुपर्ने कर्तव्यबारे जानकारी गराइएको छ । मर्स्याङ्दी गाउँपालिकाले भदौ ३० गते देखि यो कार्यक्रम सुरु गरेको हो ।