राष्ट्रिय

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक १२ दिन बन्द

- सुवास विडारी

हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड दुई साताका लागि बन्द गरिएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकाले एक सूचना जारी गर्दै आजदेखि असोज १९ गतेसम्म कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा सवारी आउजाउमा रोक लगाइएको जानकारी दिएको हो । 

दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्न सवारी आवागमनमा रोक लगाइएको सूचनामा उल्लेख छ । नगर प्रमुख मोहन बस्नेतले सो सडकखण्डमा कालोपत्रे कार्य अगाडि बढाउनका लागि सवारीको चापका कारणले कठिनाइ भएकाले यातायातको आवागमन बन्द गरिएको बताउनुभयो ।

सो सडक बन्द भएकाले सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरिएको नगरपालिकाले जनाएको छ । सो सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडा अन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।