पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
- कालीकोटपहिरोले कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । गएरातिदेखिको वर्षाले कालीकोटको सुभकालिका–१ मा पर्ने गगने खोलामा ठूलो ढुंगा सहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
पहिरो खसेपछि कालीकोटबाट आएका गाडी हुल्म बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज टोप बहादुर महताराले बताउनुभयो ।
गगने खोलामा पहिरोसँगै ढुङ्गा खसिरहेकोले तत्काल सडक खुलाउन सकिने अवस्था नरहेको उहाँले बताउनुभयो ।
वर्षाले दैखोला–सेरिघाट सडखण्डको हुल्ममा पनि पहिरो झरेको छ । गत असार यता गगने खोलामा मात्र २७ पटक पहिरो झरेर ३९ दिन सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।