राष्ट्रिय

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

- तुलाराम पाण्डेकालीकोट

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक सञ्चालनमा आएको छ । 

गएरातिदेखिको वर्षाले कालीकोटको सुभकालिका–१ मा पर्ने गगने खोलामा ठूलो ढुंगा सहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । 

पहिरो हटाएसँगै सवारी साधान सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज टोप बहादुर महताराले बताउनुभयो । वर्षा भईरहेकोले फेरि पनि पहिरो खस्न सक्ने सम्भावना रहेको उहाँको भनाई छ । 

वर्षाका बेला सकेसम्म यात्रा नगर्न पनि प्रहरीले यात्रुलाई अनुरोध गरेको छ । ‘सडक जोखिमपूर्ण छ’, उहाँले भन्नुभयो, ‘इमर्जेन्सी नैं परेको भए मात्र नत्र पानीमा नहिँड्दा राम्रो ।’ 

गत असार यता गगने खोलामा मात्र २७ पटक पहिरो झरेर ३९ दिन सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।