राष्ट्रिय

धनकुटामा पहिरोले पुरिएर २ को मृत्य, २ जनाको उद्धार

- विनोद घिमिरेधनकुटा

पहिरोले पुरिएर धनकुटामा दुई जनाको मृत्यू भएको छ । अन्य दुई जना घाइते भएका छन् । निर्माणाधिन घरमा राखेको सामान निकाल्न जाँदा पहिरोले पुरिएर धनकुटाको पाख्रिबास नगरपालिका–५ देवीथानकी ५० वर्षीया रामकुमारी तामाङ र उनकी ३० वर्षीष छोरी आशाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । 

पहिरोले घर पुर्न थालेपछि सामान निकाल्न शनिबार बिहान ३ बजे उनीहरु नवनिर्मित घरमा पसेका थिए । पहिरोमा पुरिएका आमाछोरी दुवैलाई स्थानीय र प्रहरीको टोलीले बिहान मृत अवस्थामा निकालेको थियो । 

उनीहरुलाई सघाउन गएकी छिमेकी २४ वर्षीष मनमाया तामाङ पनि घाइते भएकी छन् । उनलाई उपचारका लागि धनकुटा अस्पताल पठाइएको छ । 

यस्तै, छथरजोरपाटी गाउँपालिका–२ सल्लेस्थित कालीभीरकी एक महिलाको जीवितै उद्धार गरिएको छ । पहिरो खसेर घरमै पुरिएकी सल्लेकी २० वर्षीया सिर्जना मगरको स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन् । 

छथरजोरपाटीको जोरपाटी बजार, सिंधुवा, सल्ले, हाक्तिखर्क, तांखुवा लगायत स्थानमा ६० घर जोखिममा परेको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिनुभयो । 

जोखिमयुक्त घरमा बसिरहेका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको लिम्बुले बताउनुभयो । छथरजोरपाटीमा ७ वटा गाइ, १० वटा बाख्रा र सुँगुर पुरिएर मरेका छन् । 

धनकुटा नगरपालिकाको निगालेमा १० घर पहिरोको जोखिमा परेका छन् । जोखिमयुक्त स्थानका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने पहल भइरहेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले बताउनुभयो ।