राष्ट्रिय

एक दर्जन पानी उद्योगलाई कारवाही

काठमाडौं

प्रतिष्ठा निरौला (प्रशिक्षार्थी पत्रकार)

काठमाडौं महानगरपालिकाअन्तर्गतको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाका ११ वटा पानी उद्योगलाई कारवाही गरेको छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा पानीको गुणस्तर परीक्षणका क्रममा पानीमा फिकल कोलिफर्म र एमोनिया देखिएपछि ती उद्योगलाई कारवाही गरिएको हो । 

सर्वसाधारणले उपभोग गर्ने पानी दुषित भेटिएपछि महानगरले ११ कम्पनीको पानी बिक्रीवितरणमा रोक लगाई जनही दुई लाख जरिवाना गरेको छ । 

विभागका अनुसार २१ ब्रान्डका नमुना परीक्षण गर्दा ११ ब्रान्डमा कैफियत देखिएपछि ती ब्याचका पानी तत्काल बजारबाट फिर्ता लिन समेत निर्देशन दिइएको छ । 

त्यस्तै, महानगरले अब बिक्रीवितरण हुने पानीको प्राविधिक परीक्षण प्रतिवेदन पेश गरेपछि मात्र बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।

गोकर्णेश्वरको स्तूपा इन्डस्ट्रिज प्रालि, कपनको एमके मिनरल वाटर प्रालि, गोकर्णेश्वरकै कोशी मिनरल वाटर उद्योग प्रालि, टोखाको पिस स्प्रिङ वाटर प्रालि, टोखाकै अक्वा एसएनएस बेभरेज प्रालि, तार्केश्वरको जम्बुलिंगा ग्रुप इन्ड्रस्टिज प्रालि लगायतको उत्पादनमा कैफियत देखिएको विभागले बताएको छ ।