राष्ट्रिय

८ किलो सुनसहित मकवापुरबाट २ जना पक्राउ

- केएफएम डेस्ककाठमाडौं

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रुपमा ल्याएको ८ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गर्दै हेटौंडा–१५ स्थित प्रहरी चौकीबाट ८ किलो २ सय ४३ ग्राम ९ सय ७० मिलिग्राम सुनसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।

भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षीय अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाडलाई प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमान्डमा खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरु सवार एक स्कुटर समेत नियन्त्रणमा लिएको छ । सुनको मूल्य करिब ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

खड्काका अनुसार उनीहरु जनकपुरबाट सुन लिएर काठमाडौंका लागि हिँडेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका उनीहरु यसअघि पनि सुन कारोबारमा संलग्न रहेको पाइएको छ ।