राष्ट्रिय

लुक्ला विमानस्थलमा हिजो एकैदिन २ सय उडान

- केएफएम डेस्ककाठमाडौं

सोलुखुम्बुको लुक्ला विमानस्थलमा हिजो एकैदिन २ सय उडान भएका छन् ।

सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रा गर्न विदेशी पर्यटक बढेसंगै लुक्ला विमानस्थलमा सो उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार रामेछापको मन्थली र काठमाडौँबाट हिजो एक सय ९८ वटा उडान भएका छन् ।

हिजो एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् । हवाईजहाजबाट एक सय ६७ स्वदेशी र ६ सय ६७ जना विदेशी गरी ८ सय ४ तथा हेलिकप्टरबाट ६ सय ९५ पर्यटक लुक्ला ओर्लिएका पन्थीको भनाइ छ ।

पर्यटक आगमनको याम सुरु भएकाले उडान संख्या अझै बढ्ने पन्थीले बताउनुभयो । यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।