राष्ट्रिय

मौसम सुधार नहुँदा लुक्ला जाने ५ सय बढी पर्यटक रामेछापमा अलपत्र

- केएफएम डेस्ककाठमाडौं

प्रतिकूल मौसमका कारण रामेछापको मन्थली विमानस्थलमा हवाइ उडान नहुँदा लुक्ला जाने ५ सय बढी पर्यटक अलपत्र परेका छन् ।

बिहानैदेखि हुस्सु कुहिरोका कारण तीन दिनयता उडान प्रभावित हुँदा लुक्ला जाने पर्यटक मर्कामा परेका हुन् । उडान प्रभावितका कारण सगरमाथा क्षेत्रको भ्रमण तय गरेका विदेशी पर्यटक समस्यामा परेका छन् ।

मन्थलीबाट लुक्ला जाने पर्यटक मौसम खुल्ने आशामा बसेका छन् भने कतिपय जिरी हुँदै सगरमाथा क्षेत्रमा पैदल जान थालेका छन् ।

यसैबीच, सरकारले तीन दिनदेखि मन्थलीमा अड्किएका पर्यटकलाई लुक्ला विमानस्थल पु¥याउन नेपाली सेनाको जहाज प्रयोग गर्ने तयारी भएको जनाएको छ ।

रक्षामन्त्री मानवीर राईले पर्यटकको शीघ्र उद्धारका लागि नेपाली सेनाको जहाज प्रयोग गर्ने तयारी भएको जानकारी दिनुभयो ।

यता, नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव कुमार केसीले पर्यटकको उद्धारका लागि सम्बन्धित निकायसँगको छलफल र निर्णयपछि मन्थलीमा अड्किएका पर्यटकलाई नेपाली सेनाको जहाज मार्फत् लुक्ला पठाउने तयारी भएको बताउनुभयो ।