राष्ट्रिय

करार चिकित्सकद्वारा मन्त्रालयमा नाराबाजी

- अजित तिवारी

तीन महिनादेखि तलव नपाएको भन्दै मधेश प्रदेशका करार चिकित्सकले जनकपुरस्थित स्वास्थ्य मन्त्रालय परिसरमा नाराबाजी गरेका छन् । संघीय सरकारले रकम पठाइसकेपनि प्रदेश सरकारले निकासा नदिंदा तीन महिनादेखि तलव नपाएको उनीहरुको गुनासो छ । 

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको लापवार्हीका कारण मधेश प्रदेशमा कार्यरत्त करिव एकसय छात्रवृति करारमा कार्यरत्त चिकित्सकले तीन महिनादेखि तलव पाएका छैनन् । आन्दोलनरत्त चिकित्सक डा. पुरुषोत्तम यादवले अनुसार छात्रवृति करारमा नियुक्त विशेषज्ञ चिकित्सक, मेडिकल तथा नर्सिङ अधिकृतले चाडपर्वको बेलामा समेत तलव नपाउँदा समस्या भएको बताउनुभयो । 

तलव नपाएका चिकित्सकहरुले अब हरेक महिनाको मसान्तभित्र तलव पठाउने लिखित प्रतिबद्धता नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालयमा नाराबाजी गरेपछि उनीहरुलाई मन्त्रालयले भने वार्तामा बोलाएको छ ।