राष्ट्रिय

अभियन्ता चौधरी सम्मानित

- केएफएम डेस्क

अमेरिकी विदेश मन्त्रालयले अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन अवार्ड प्रदान गरेको छ । चौधरीले नेपालमा सीमान्तकृत समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले सो पुरस्कारबाट सम्मानित गरेको हो । 

उर्मिला चौधरी सो पुरस्कारबाट सम्मानित भएको जानकारी दिँदै काठमाडौंस्थित अमेरिकी दूतावासले प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध गरेको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा अथक योगदान वास्तवमै प्रेरणादायी रहेको जनाएको छ । पूर्वकमलरीसमेत रहेकी उर्मिला चौधरीले कमलरीमुक्त अभियानमा संलग्न अभियन्ता हुनुहुन्छ । ११ वर्ष कमलरी–जीवन बिताएकी उर्मिला २०६३ माघ १ मा मुक्त भएसँगै त्यही अभियानमा जोडिनु भएको हो ।