राष्ट्रिय

तानसेनमा बजार अनुगमन, करीब २ लाख मूल्य बराबरको चामल नष्ट

- माधव अर्यालपाल्पा

पाल्पाको तानसेनमा जिल्ला अनुगमन समितिले १ लाख ८२ हजार मुल्य बराबरको चामल बरामद गरी नष्ट गरेको छ । बजार अनुगमनबाट ८३ बोरा (प्रति बेरा २० केजी) अखाद्य चामलसहित विभिन्न सामग्री बरामद गरी नष्ट गरेको हो । 

तानसेन नगरका बजार क्षेत्रमा दुई दिन गरेको अनुगमनमा तानसेन नगरपालिका–३, स्थित पाण्डेय किराना पसलबाट म्याद गुज्रेको चामल बरामद गरेको हो । पर्ल ब्राण्डको चामल २०८० माघदेखि ६ महिना मात्र म्याद रहेको भए पनि अहिले पनि बिक्रीका लागि राखिएको भेटिएपछि बरामद गरी नष्ट गरेको अनुगमन समितिका सदस्य मनोज घिमिरेले बताउनुभयो । 

अनुगमन समितिले बरामद गरी नष्ट गरेको चामलको खुद्रा मूल्य १ लाख ८२ हजार ६ सय रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो । तानसेनमा कालो दाल, चामल लगायत खाद्यवस्तु अखाद्य भइसक्दा समेत बिक्री गरेको भन्ने उपभोक्ताको गुनासाका आधारमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा समितिले म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरेको छ ।

तानसेनका विभिन्न पसलमा गरेको अनुगमनमा लालीपप, टाइगर बियर, बेसन, जिरा पाउडर, बेसार लगायत सामग्री समेत खुद्रा मूल्य ७० हजार रुपैयाँ पर्ने म्याद गुज्रेका भेटिएकाले बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

अनुगमन समितिले त्यस्तो सामग्री बिक्री गर्ने व्यापारीलाई कुनै जरिवाना र कारबाही गरेको छैन । हरेक पटक अनुगमन गर्दा चेतावनी दिने तर कारबाही नगर्ने भएपछि उपभोक्ता मर्कामा परेका छन् । ‘जहिलेसुकै अनुगमन गरेको भन्ने सुनिन्छ तर कारबाही भएको भन्ने थाहा नै हुँदैन,’ तानसेन नगरपालिका–६, का उपभोक्ता रमेश थापाले भने, ‘जसले गर्दा उपभोक्ता जहिले पनि मारमै पर्ने गरेका छन् ।’

अनुगमनमा जिल्ला प्रशासनका अधिकृत दिनेश ज्ञवाली, खाद्यका नरेश श्रेष्ठ, तानसेन नगरपालिकाका भरत आचार्य, पत्रकार महासंघका अनिल लिगल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष टंकनाथ न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका मन्जु रेग्मी, पाल्पा व्यापार संघका कपिल कार्की, प्रहरी प्रतिनिधि लगायतको उपस्थिति थियो । समितिले तानसेन नगरपालिकाका ३, ४ र ५ का पसलहरुमा पुगेर अनुगमन गरेका थिए ।