तल्लो अरुणमा १ अर्ब ४० करोड मुआव्जा वितरण सुरु
-जिल्ला प्रशासन कार्यालय संखुवासभाले संखुवासभामा निर्माणाधिन ६ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत आयोजनाका प्रभावितलाई मुआव्जाको रकम वितरण सुरु गरेको छ । प्रभावितका लागि प्रशासनले १ अर्ब ४० करोड मुआव्जा बापतको रकम वितरण गर्ने जनाएको छ ।
सो रकम तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरुले पाउने छन् । जिल्ला प्रशासनका आनुसार यो क्षेत्रमा ५ लाख देखि ३४ लाख सम्म जग्गाको मुल्यांकन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो ।
तल्लो अरुण आयोजना निर्माणस्थल क्षेत्रमा पर्ने ६ सय ५६ जनाले मुआव्जा पाउने छन् । प्रस्तावित आयोजनाबाट ३ सय ३८ घरधुरी प्रभावित हुनेछन् भने १६ परिवार पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजनाका लागि १८४ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा निजी जग्गा ६५ दशमलव ९६ हेक्टर रहेको छ । अरुण तेश्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत निगम लिमिटेडले तल्लो अरुणको पनि निर्माणको जिम्मा लिएको छ ।