बाढीपहिरोले वाग्मतीका १३ जिल्लाका ४ सय ३५ विद्यालय क्षतिग्रस्त
-बाढीपहिरोले वाग्मती प्रदेशका ४ सय ३५ वटा विद्यालयका भवनहरु क्षतिग्रस्त भएको छ । गत महिना असोज ११ र १२ गते आएको बाढीपहिरोले १३ जिल्लाका आधारभुत तहदेखि माध्यमिक तहसम्मका पठनपाठन हुने ४ सय ३५ वटा विद्यालय क्षतिग्रस्त भएको हो ।
वाग्मती प्रदेश शिक्षा विकास निर्देशनालय हेटौडाका अनुसार १३ वटा जिल्लामध्ये बाढीपहिरोले सबै भन्दा बढी काभ्रेको विद्यालयलाई क्षति पु¥याएको छ । काभ्रेको ११ वटा पालिकाको १ सय ४९ विद्यालय भवनमा क्षति पुगेको छ । अधिकांश विद्यालयको असोज १२ गतेदेखि नै पठनपाठन ठप्प.छ । धादिङका ९ वटा पालिकाका ६० वटा विद्यालयका भवन क्षतिग्रस्त भएका छन् भने सिन्धुलीका ६ वटा पालिकाका ४५ विद्यालयका भवनहरु भत्कनुको साथै पहिरोले पुरेको छ ।
यसैगरी ललितपुरका ५ वटा पालिकाका ३९ वटा विद्यालयहरु क्षतिग्रस्त भएका छन् । रामेछापका ८ वटा पालिकाका ३८ वटा विद्यालयमा बाढीपहिरोले क्षति पु¥याएको छ । असोज दोस्रो सातामा आएको बाढीपहिरोले मकवानपुरका ६ वटा पालिकाका २८ वटा विद्यालय भवन क्षतिग्रस्त भएका छन् । मकवानपुरको सबै भन्दा बढी वकैया गाउँपालिकाका १० वटा विद्यालमा क्षति पुगेको छ । ती विद्यालयमा अहिलेसम्म पठनपाठन हुन सकेको छैन । यसैगरी भक्तपुर जिल्लाको ४ वटा पालिकाका २३ वटा विद्यालयलाई बाढीले क्षति पु¥याएको छ भने नुवाकोटको ६ वटा पालिकाका १० वटा विद्यालय बाढीले क्षतिग्रस्त भएका छन् ।