चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १० गैंडा मृत फेला
-चितवन राष्ट्रिय निकुञ्ज र सो आसपासको मध्यवर्ती क्षत्रमा गत साउनदेखि हालसम्म १० वटा गैंडा मृत भेटिएका छन् ।
निकुञ्ज कार्यालयका अनुसार कात्तिक एक गतेयता मात्रै चार वटा गैंडा मृत फेला परेका हुन् । मृत फेला परेका मध्ये सबै गैंडाको खाग र खुर भेटिएका कारण उनीहरुको मृत्यु चोरी सिकारीका कारण नभएको निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनास थापा मगरले बताउनुभयो ।
यद्यपी, पछिल्ला वर्षमा चोरी सिकार भने नियन्त्रणमा आएको निकुञ्जले दाबी गरेको छ । तर, गत वर्षको दशैं तिहारको समय पारेर तस्करहरुले खाल्डोमा पारेर मारेका र खाग समेत लगेका दुई वटा गैंडा मृत फेला परेका थिए ।
विगतका वर्षमा चाडपर्वको समयमा गैंडाको चोरी सिकार हुने तथ्यलाई ध्यानमा राखेर गस्ती कार्यलाई निरन्तरता दिई सुरक्षा बढाइएको निकुञ्जले जनाएको छ नेपालको तराई क्षेत्रका निकुञ्जहरुमा गरेर कुल ७ सय ५२ वटा गैंडा छन् ।