तराई मधेशमा छठको रौनकता सुरु
- काठमाडौंतराई मधेशका क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको छ । छठ पर्व नजिकिएसँगै नदी तथा ताल तलैयामा सरसफाइ तथा सजावटको काम सुरु भएको हो । मधेश प्रदेशको राजधानी जनकपुर सहित सिराह, सप्तरी, धनुषा, महोतरी बारा पर्सा रौतहट लगायतका जिल्लाको हाट बजारमा छठको किनमेल गर्नेको घुईँचो लागेको छ । तराई मधेशमा छठलाई सबैभन्दा ठूलो पर्वका रुपमा मनाउने गरिन्छ ।
चार दिनसम्म मनाईने छठको पहिलो दिन ब्रतालु नुहाएर चोखो हुन्छन् र ब्रत बस्ने संकल्प गर्छन् । यसलाई ‘नहाखाय’ भनिन्छ । दोस्रो दिन उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यदेवलाई आह्वान गरिन्छ । त्यसलाई खरनाका रुपमा मनाउने गरिन्छ । तेस्रो दिन विभिन्न किसिमका परिकार घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यको अर्घ दिने चलन छ । अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ समापन हुने हाम्रा सहकर्मीले जनाएका छन् ।
पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ मनाउने गरिन्छ । तराईका साथै काठमाडौं लगायत जिल्लामा पनि छठका लागि तयारी स्वरुप पोखरी तथा घाटहरुमा सरसफाई सुरु भईसकेको छ ।