लामिछानेमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप
-सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले म्याद थप गरेको छ । सो म्याद थपको समय कात्तिक १४ गतेदेखि गणना भएर कात्तिक २३ मा सकिनेछ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले आज लामिछानेलगायत ५ जनालाई हिरासतमा राख्ने म्याद १० दिन थपेको हो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १० दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।
लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले आज उहाँलाई अदालतमा उपस्थित गराइएको हो । अब कात्तिक २५ मा चारजनालाई अदालतमा उपस्थित गराइने हाम्रा सहकर्मी दिपक परियारले जनाएका छन् ।