अक्टोबरमा मात्र एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक भित्रिए
-सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आएका हुन् । सो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ४ प्रतिशतले बढी हो ।
सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । कोभिड–१९पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको संख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिने उहाँको भनाई छ ।