सहज पहुँच भएमात्र जलवायु न्याय हुन्छः उपप्रधानमन्त्री सिंह
-उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गर्नुभएको छ । इजिप्टको कायरोमा आयोजित वल्र्ड अर्बन फोरममा ‘सहरहरू र जलवायु संकट’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभयो ।
नेपाल जस्ता विकासोन्मुख देशहरूले धेरै कम कार्बन उत्सर्जन गरेता पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले सजिलो पहुँच र प्राविधिक सहयोगमार्फत मात्र जलवायु न्याय हुने उहाँको भनाई थियो । उपप्रधानमन्त्री सिंहले नेपाल सरकारले सहरी नीति र विकास रणनीति पुनरावलोकन गर्दै जलवायुमैत्री बनाएको समेत जानकारी गराउनुभएको थियो ।
जलवायु परिवर्तनले सिर्जित विपद्बाट घरबार गुमाएका परिवारलाई निजी आवास पुनर्निर्माण र पुर्नस्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहहरूको लागत साझेदारीमा अनुदान दिने व्यवस्था गरेपनि विपद्का घटनाहरु बढेकाले समेत नेपाल सरकारलाई पर्याप्त वित्त व्यवस्थापनमा कठिनाइ भएको उहाँको भनाई थियो ।