मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार एक नेपाली कुवेतबाट पक्राउ
-मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका एक नेपाली कुवेतबाट पक्राउ परेका छन् । इन्टरपोलको खोजी सूचीमा रहेका धनुषा जनकनन्दिनी गाउँपालिका–४ स्थायी घर भएका दिलीप राउतलाई कुवेत प्रहरीले पक्राउ गरेको हो । कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न आज नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले राउतको खोजीका लागि इन्टरपोललाई पत्राचार गरेको थियो । राउत कुवेतमा लुकेर बसेको आशंकामा प्रहरीले उनको खोजी गर्न कुवेत प्रहरीलाई पनि अनुरोध गरेको थियो । प्रहरी प्रधान कार्यालयले राउत कुवेत प्रहरीको समन्वयमा पक्राउ परेको र उनलाई कारबाहीका लागि नेपाल ल्याइएको जनाएको छ ।मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनीविरुद्ध गत असोज १८ मा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार राउतलाई नेपाल ल्याएलगत्तै थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइएको छ ।
यसअघि, वैदेशिक रोजगारी ठगीको मुद्दामा फरार भई इन्टरपोलको खोजी सूचीमा रहेका सिन्धुपाल्चोक मांखाकी बिनु शाक्य र उदयपुरको त्रियुगाका सुजन आचार्यलाई कम्बोडियामा पक्राउ गरी थप अनुसन्धानका लागि नेपाल ल्याइएको थियो । आचार्य र शाक्यले वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोग छ ।