राष्ट्रिय

माओवादीले पुथाउत्तरगंगाको उपाध्यक्षमा पुनलाई उठाउने

- महेश केसीरुकुम पूर्व

नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने भएको छ । 

सो पार्टीको गाउँपालिका कमिटीको आज बसेको बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा उपाध्यक्ष पदमा पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जिल्ला संयोजक कुमारी बरालले उपाध्यक्षमा १० आकांक्षी मध्येबाट पुनलाई उम्मेदवार बनाउने निर्णय गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नम्बर–२ को अध्यक्षको उम्मेदवारका विषयमा भने निर्णय हुन बाँकी छ । यसअघि माओवादी केन्द्रबाट निर्वाचित पालिकाका उपाध्यक्ष भुपेन्द्र बुढा र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते बागलुङमा जिप दुर्घटनामा परी निधन भएपछि सो पद रिक्त थियो । सोही रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच, पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि एमालेले केशकुमारी तुलाचन र वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसले भने एमाले कै उम्मेदवारलाई सघाउने गरी चुनावी तालमेल गर्ने तयारी भईरहेको जनाएको छ ।