राष्ट्रिय

आज हरिबोधनी एकादशी, नारायण मन्दिरमा भक्तजनको घुइँचो

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी आज मनाईदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी आज मनाउन लागिएको हो । 

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै सोही अनुसार हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज तुलसीको पूजा गर्ने प्रचलन छ । 

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यसदिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । काठमाडौँ उपत्यकाका चार नारायण लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

काठमाडौँका पशुपतिनाथ र बूढानीलकण्ठ मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधिअनुसार पूजाआजा गरी आज दामोदरसँग तुलसीको विवाह गरिदिने प्रचलन छ । 

आजको दिन सखरखण्ड, पिँडालु, कन्दमूल र फलफूल प्रसादका रुपमा खाने गरिन्छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । त्यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि मानिन्छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ ।