कान्तिपुर कन्क्लेभको चौथो संस्करण आज
- काठमाडौंकान्तिपुर मिडिया ग्रुपको आयोजनामा हुने ‘कान्तिपुर कन्क्लेभ’को चौथो संस्करण आज काठमाडौंमा हुँदैछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बहस गरिने कन्क्लेभको यसवर्षको मुख्य विषयवस्तु ‘डेमोक्रेसी इन डिलिमा’ रहेको छ ।
एनआईसी एसिया बैंकको मुख्य प्रायोजन र एसियन पेन्टस्को सह–प्रायोजन हुने सो बहसमा १२ सत्रमा ५० वक्ता रहनेछन् । जसमध्ये १० जना विदेशी पाहुना रहने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ ।
आज र भोलि दुई दिनसम्म चल्ने कान्तिपुर कन्क्लेभमा नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलास सत्यार्थीको ‘कि नोट स्पिच’ रहनेछ । कन्क्लेभमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत वक्ताका रुपमा रहनुहुनेछ ।
कन्क्लेभको पहिलो दिन आज दोबाटोमा लोकतन्त्र, नीति र समृद्धि, लोक रिझ्याइँको लहर, सामाजिक सञ्जालः दुईधारे तरबार, कलम र शक्तिः नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक तथा प्रचण्डपथ : सडक कि सत्ता ? शीर्षकमा बहस हुनेछन् ।
दोस्रो दिन भोलि निर्वाचन सुधार : नीति कि प्रवृत्ति, भूराजनीतिक खलबल, मैदानमा महिला नायक, सीमापार समृद्धि, मुख्यमन्त्रीका मुख्य मुद्दा र प्रधानमन्त्रीसँग परिसंवाद शीर्षकमा बहस हुने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ ।
कन्क्लेभको इकान्तिपुर र कान्तिपुर टीभीमा प्रत्यक्ष प्रसारण हुनेछ । त्यस्तै कान्तिपुर कन्क्लेभको वेबसाइट र सामाजिक सञ्जालबाट पनि कन्क्लेभका बहसको अपडेट लिन सकिनेछ ।