जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न गरिएका प्रतिबद्धता पूरा गर्न राष्ट्रपति पौडेलको आग्रह
-राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गर्नु भएको छ । राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग भएको भेटवार्तामा सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्नु भएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो प्रभाव बेहोरिरहेको बताउनुभयो । उहाँले हिमालमा भएको हिउँ पग्लिरहेको, तल्लो तटीय क्षेत्रका जनसंख्यालाई स्वच्छ खानेपानीको स्रोत घटिरहेको एवं जलवायु परिवर्तनबाट सिर्जित प्राकृतिक विपद्बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेको जानकारी दिँदै यस वर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गर्नुभयो ।
भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेभले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक गरेर काम गर्ने बताएको सल्लाहाकार पोखरेलले जानकारी दिनुभयो ।
सन् १९९५ मा नेपाल र अजरबैजानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुबै देशले संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा दीगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा चासोका विषयमा सहकार्य गरिरहेका छन् ।