राष्ट्रिय

चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री ओली

- केएफएम डेस्क

प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको बताउनुभयो । 

उहाँले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताउनुभयो । अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै यस्ता गलल प्रवृत्ति हुन नहुनेमा मन्त्री र सचिवहरुलाई ध्यानाकर्षण समेत गराउनुभयो । 

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजामा सुधारका लागि अनलाइन कक्षालगायतका विकल्पका योजना ल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन समेत दिनुभयो । माध्यमिक शिक्षा परीक्षाको नतिजामा ५२ प्रतिशत भन्दा बढी विद्यार्थी एनजी भएपछि विद्यालय शिक्षाको सिकाई प्रक्रियालाई लिएर सर्वत्र आलोचना भएको थियो ।