राष्ट्रिय

उपनिर्वाचनका लागि देशभर ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना

- केएफएम डेस्क

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि देशभर ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ३२ वटा र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरु उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडा केन्द्र रहेको स्थानमा स्थापना गरिएको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

यस्तै, कार्यालय स्थापना भएपश्चात मंसिर २ गतेदेखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ । मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । 

मंसिर १६ गते विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान कार्य हुने आयोगको भनाई छ । त्यस्तै, निर्वाचन आयोगका प्रवक्तामा सहसचिव नीता पोखरेल अर्याललाई तोकिएको आयोगले जनाएको छ ।