राष्ट्रिय

उपनिर्वाचनका लागि भोलि मनोनयन पत्र दर्ता हुने

- केएफएम डेस्ककाठमाडौं

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन पत्र दर्ता भोलि हुँदैछ ।

बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । त्यसपछि साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मंसिर ५ गते आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

भोलिबाट निर्वाचन आचारसंहिता लागू हुने

स्थानीय तहको उपनिर्वाचनका लागि भोलिबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आज विज्ञप्ती जारी गर्दै भोलिबाट निर्वाचन सम्पन्न नहुँदसम्मको अवधिका लागि आचारसंहिता लागू हुने जनाएको हो ।

उपनिर्वाचन हुने जिल्ला तथा स्थानमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आचारसिंहता लागू गर्न लागिएको आयोगको भनाइ छ । आयोगका अनुसार केन्द्रीय तथा प्रदेश सरकार तथा सरकारका मन्त्री, सुरक्षाकर्मी, राजनीतिक पद धारण गरेका लगायत व्यक्तिमा आचारसंहिता लागू हुनेछ ।