राष्ट्रिय

उपनिर्वाचन हुने स्थानमा सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगको सरकारलाई आग्रह

- केएफएम डेस्ककाठमाडौं

यहि मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि सम्बन्धीत जिल्ला तथा स्थानमा सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ ।

 निर्वाचन आयोगद्वारा गठित उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन भन्दै गृहमन्त्रालयलाई सुरक्षा व्यवस्था मिलाउन भनिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । 

उपनिर्वाचन हुने ३३ जिल्लाको ४४ स्थानमा निर्वाचन आचारसंहिता पूर्ण रुपले पालना गराउन तथा पर्सी बुधबार देखि लागू हुनेगरि उपनिर्वाचनको मत गणना नसकिने समय सम्म सम्बन्धीत स्थानमा मदिराजन्य पदार्थको विक्रि वितरण र प्रयोगमा रोक लगाउन समेत आयोगले गृह मन्त्रालय मार्फत् स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

भौतिक संरचनाको व्यवस्था गर्नु

निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायमभएका मतदानस्थल÷केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । 

आयोगको आज बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो । 

संघीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, सवारीसाधन र अन्य विद्युतीय उपकरण मर्मत सम्भार गरी उपनिर्वाचनका लागि आवश्यकताअनुसार प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।