राष्ट्रिय

कोरला अध्यागमन कार्यालय उद्घाटन भएसँगै बन्द

- केएफएम डेस्ककाठमाडौं

मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय उद्घाटन भएसँगै बन्द भएको छ । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखक नेतृत्वको टोली पुगेर तामझामसहित कार्यालय उद्घाटन गरेपनि भोलिपल्टदेखि नै कार्यालय बन्द भएको हो । 

अध्यागमन कार्यालयमा खटिएका कर्मचारी चिसो बढेकोले अब बैशाखबाट कार्यालय खोल्ने भन्दै घर फर्केको उपल्लो मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोप्पेल विष्टले बताउनुभयो । चिनियाँ भन्सार कहिल्यै बन्द नहुने भएपनि नेपालतर्फ भने जाडो र गर्मीको निहुँमा आधा समय नै बन्द हुने उहाँले बताउनुभयो । 

समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाईमा रहेको कोरला नाकास्थित अध्यागमन कार्यालयमा सरकारले १ जना अध्यागमन अधिकृत, २ वरिष्ठ अध्यागमन सहायक, १ सहायक लेखापाल, २ सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीसहित ८ जनाको दरबन्दी कायम गरी कर्मचारी खटाएको थियो । 

कोरलास्थित अध्यागमन कार्यालय मात्र होइन नाकादेखि १२ किलोमिटर तल नेचुङमा सशस्त्र प्रहरीको वीओपीसँगै रहेको भन्सार कार्यालय पनि अहिले बन्द छ । कोरला नाकास्थित नेपाली अध्यागमन र भन्सार कार्यालय बन्द गरिए पनि चिनियाँ अध्यागमन कार्यालय खुला रहेकोले नेपाली ब्यापारी सीमापारि तिब्बत पुगेर दैनिक उपभोग्य र व्यापारिक सामान ल्याउने गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।