बीपी राजमार्ग रातको समयमा दैनिक सात घण्टा बन्द हुने
- काठमाडौंबीपी राजमार्गमा आजदेखि रातको समयमा दैनिक सात घण्टा सवारी साधन सञ्चालन बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने जानकारी दिएको हो । बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राति ७ घण्टा सवारीसञ्चालन बन्द गर्न लागिएको हो ।
राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यलयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि राति गाडी नचलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
यसैबीच गत असोज दोस्रो साता बाढी पहिरोका कारण क्षतिग्रस्त भइ अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकमा पनि यातायात सञ्चालनमा रोक लगाईएको छ ।