राष्ट्रिय

उपनिर्वाचन लक्षित रास्वपाको घरदैलो अभियान आजबाट सुरु

- केएफएम डेस्ककाठमाडौं

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसार गर्नेक्रममा आजबाट घरदैलो अभियान सुरु गरेको छ । 

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन लक्षित दलहरुले प्रचारप्रसारलाई तीव्र बनाइरहेका बेला रास्वपाले पनि घरदैलोलगायत रचनात्मक विरोध सुरु गरेको जनाएको छ ।

 पार्टी सभापति रवि लामिछानेलाई राज्यबाट प्रतिशोध साँधिएको भन्दै जनतालाई बुझाउनुका साथै उपनिर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउन अपिल गर्ने केन्द्रीय सदस्य गणेश पराजुलीले बताउनुभयो ।

 रास्वपाले यसअघि सहकारी प्रकरणमा लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राखी आज देखि सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर प्रदर्शन गर्न नहुने बरु रचनात्मक आन्दोलनमा लाग्नुपर्ने आवाज नेताहरुले उठाएपछि रास्वपाले उपनिर्वाचनलक्षित घरदैलो अभियानमा सो विषय जनतालाई बुझाउने बताएको छ ।

 तत्काल दोस्रो चरणको आन्दोलनको स्वरुप परिवर्तन गर्दै रास्वपाले स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सबै नेताहरू गएर सहकारी ठगी र सभापति लामिछानेको पक्राउका विषयमा जनतालाई आफ्ना कुरा स्पष्ट पार्ने जनाएको छ ।