राष्ट्रिय

यौन शोषण अभियोगमा पोखराबाट तीन युवती पक्राउ

- प्रतीक्षा काफ्लेपोखरा

मानव बेचविचख तथा ओसारपसार र जबरजस्ती करणीको आरोपमा पोखराबाट तीन जना युवती पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा गोरखाको पालुङटार–४ स्थायी घर भई हाल पोखरा–६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका–८ घर भई हाल काठमाडौँ बुढानिलकण्ड नगरपालिका–७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासीको मध्यविन्दु–१० घर भई हाल पोखाको लेकसाइड बस्ने १९ वर्षीया जस्मिन ठकुरी रहेको कास्की प्रहरीले जनाएको छ । 

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित स्नो ल्याण्ड होटलले सञ्चालन गरेको युथ होस्टेलको कोठामा बिहीबार राति १० बजेको समयमा ४ जना बालिकालाई यौनशोषण गरेको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीको टोली पुगेको थियो । 

प्रहरीले सोही ठाउँबाट चार जना बालिकाको उद्दार गरेको छ । ती युवतीहरुले होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खाना बस्नको राम्रो सुविधा छ भनेर फकाईफुलाई ल्याई यौन शोषणमा लगाएको पीडित बालिकाले बताएका छन् । 

यौन शोषण गर्न बाध्य पार्ने तीनै जना युवतीलाई शुक्रबार जिल्ला अदालत कास्कीमा मानव बेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी बसन्त कुमार शर्माले बताउनुभयो ।