चितवनमा स्कूल बस दुर्घटनामा घाइते भएका मध्ये एकको मृत्यु
- चितवनचितवनमा हिजो भएको स्कूल बस दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । पिकनिक मनाएर फर्कँदै गरेको स्कूल बस दुर्घटनामा घाइते भएका मध्ये कालिका नगरपालिका–३ बस्ने ८ वर्षीय आराम्भ पोखरेलको मृत्यु भएको हो ।
भरतपुरको पुरानो मेडिकल कलेज उपचाररत पोखरेलको आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।
कालिका–४ स्थित चित्रवन स्कूलको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस पिकनिक मनाएर फर्किँदै गर्दा हिजो कालिका–९ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा २८ जना घाइते भएका थिए भने दुई जनाको अवस्था गम्भीर थियो । अन्य घाइते डिस्चार्जपछि घर फर्किएका छन् । प्रहरीका अनुसार स्कूल बसमा चालकसहित ३२ जना सवार थिए ।