निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
स्थानीय तहको उपनिर्वाचनका क्रममा आइपर्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले आजदेखि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ ।
आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा सञ्चालित केन्द्रबाट आयोगका निर्णयको कार्यान्वयन अवस्था, आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षबारे नियमित रूपमा जानकारी लिई तत्कालै समस्या समाधान गरिने जनाइएको छ ।
निर्वाचन परिणाम घोषणा नभएसम्म केन्द्र सञ्चालनमा रहने आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो । यही मंसिर १६ गते आइतबार स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।