राष्ट्रिय

स्थानीय सरकारको उपलब्धि र चुनौति बुझ्न कोसोभोका मन्त्रीले ललितपुर महानगर प्रमुख चिरीबाबुसँग भेटे

- केएफएम डेस्कललितपुर

नेपाल भ्रमणमा रहेका कोसोभोका स्थानीय सरकार तथा प्रशासन मन्त्री एल्बर्ट क्रिस्निक र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ ।

पहिलो पटक नेपालको औपचारिक भ्रमणमा आएका मन्त्री एल्बर्टको प्रतिनिधिमण्डलले महानगर प्रमुखसँग पुल्चोकस्थित महानगरको कार्यालयमा भेटवार्ता गरेको हो ।

मन्त्री एल्बर्टको प्रतिनिधिमण्डलले नेपालमा स्थानीय सकारको अभ्यास, उपलब्धि , अवसर र चुनौतिहरुको बारेमा जानकारी लिनका लागि महानगर प्रमुख चिरीबाबु महर्जनसँग भेटवार्ता गरेको हो ।

हेल्भेटास नेपालद्धारा नेपालमा संचालित कार्यक्रमहरुको अध्ययनको सिलसिलामा हेल्भेटास कोसोभोबाट आएको टोली सोमबार नेपाल आएको हो ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित महानगर आएका एल्बर्टलाई नगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जन, पूर्वाधार समितिका संयोजक चन्द्रलाल महर्जन, संस्कृति, पर्यटन समिति विकासमान श्रेष्ठ, शहरी विकास समितिका संयोजक गणेश केसी , प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले स्वागत गरेका थिए ।

मन्त्री एल्बर्टले कोसोभोका भौगोलिक, राजनीतिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

यसैगरी नगर महर्जनले नेपालको तीन तहको सरकार, उनीहरुको क्षेत्र लगायतका विषयमा कोसोभो मन्त्रीको प्रतिनिधिमण्डललाई जानकारी दिएका थिए । महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षणमा प्रशस्तै काम गरेको बताए ।

सामाजिक सेवाको क्षेत्रमा पनि महानगरबाट धेरै काम सम्पादन भएको उनको दाबी थियो ।

पेट्रोल, डिजेलबाट सवारीसाधनका कारण वातावरण प्रदुषण बढ्दै भएको बताउँदै ललितपुर महानगरले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राखेको बताए ।

ललितपुर महानगरले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई प्राथमिकतामा राखेको जानकारी गराए ।

मन्त्री एल्बर्र्टले कोसोभोमा रहेका पालिकाहरुको प्रविधि,ज्ञान,सीप र असल अभ्यासहरु ललितपुर महानगरमा भित्राउन र अनुभव आदान प्रदानका लागि लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,‘यसका लागि म ललितपुरका मेयरसहितका जनप्रतिनिधि र कोसोभोका मेयरहरुबीच छलफल गराउन प्रयास गर्छु ।’ 

मन्त्री एल्बर्टका अनुसार कोसोभोमा केन्द्रीय र स्थानीय गरी दुई सरकारको व्यवस्था छ । 

स्थानीय सरकारले पालिकाहरुको लागि फण्डको व्यवस्था गर्नुपर्छ । 

महानगर प्रमुख चिरीबाबु महर्जनले नेपालमा तीन तहको सरकार रहेको बताउँदै संघीय र प्रदेश सरकारले स्थानीय सरकारलाई क्षेत्रगत रुपमा सहयोग गर्ने बताए ।

कोसोभोका मन्त्री एल्बर्टले भेटघाट फलदायी भएको बताए । 

महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाल भ्रमण एकपटक मात्रै पर्याप्त नभएको बताउँदै फेरि पनि ललितपुरसहित नेपाल आउन निम्तो दिए ।