कर्जन्हाका पूर्वमेयरसहित ५ जनालाई भ्रष्टाचार मुद्दामा साढे दुई वर्ष कैद
-सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित ५ जनालाई भ्रष्टाचार मुद्धामा २ वर्ष ६ महिना कैद र जनही ४३ लाख २० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको छ । भ्रष्टाचार मुद्दामा पूर्वमेयर पासवानसहित तत्कालीन दुई प्रशासकीय अधिकृत, एक लेखापाल र एक ठेकेदारलाई विशेष अदालतले सजाय सुनाएको हो ।
पूर्वमेयर पासवानसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल,तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीनकुमार महतो र निर्माण व्यवसायी वैजनाथ यादवले भ्रष्टाचार गरेको भन्दै साढे दुई वर्ष कैद र जनही २१ लाख ६० हजार रूपैयाँ बिगो र त्यति रकम नै जरिवाना गरी ४३ लाख २० हजारका दरले रकम भराउने फैसला विशेष अदालतको छ । नगरपालिकाको प्रशासनिक भवन निर्माणका नाममा कामै नगरी अनियमितता गरेको अभियोगसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वर्षको चैत १४ गते पाँचै जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनीहरूले सो भवन निर्माणका नाममा १ करोड ८ लाख रुपैयाँ अनियमितता गरेको दाबी अख्तियारको थियो । सोही मुद्दामा गत कात्तिक २८ गते सुनुवाइ गर्दै न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गरेको थियो ।