राष्ट्रिय

चिसो बढेपछि टिंकर सीमा प्रहरी चौकी छाङरु सर्‍यो

- मनोज बडूदार्चुला

चिसो बढेसँगै दार्चुलाको टिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङ्रुमा सरेको छ । चिसो बढेपछि ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी छाङ्रु सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताउनुभयो । 

छियालेक चौकीमा बढी चिसोमा बस्न मिल्ने संरचना नभएकाले प्रहरीको टोली मंसिर ८ गते छाङ्रु झरेको हो । उहाँका अनुसार सीमा क्षेत्र र नागरिकको सुरक्षाका लागि बसेको प्रहरी टोली टिंकरका स्थानीय चिसो चल्न सदरमुकाम आएसँगै छाङरु झरेको हो । 

प्रहरी नायब निरीक्षक चक्र बहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेपनि छाङ्रुस्थित नितिकुञ्जबाट तिङकर गाउँसम्मको गस्ती गरिरहेको जोशीले बताउनुभयो । ‘उच्च हिमाली भेग टिंकरमा चिसो बढ्ने बित्तिकै बाहिर निस्कन सकिने अवस्था रहँदैन’, तिंकर खटिएको प्रहरीले भने, ‘छियालेक चौकीमा बढी चिसोमा बस्न मिल्ने संरचना छैन ।’

चिसोका कारण टिंकरका स्थानीय मौसमी बसाइँ सरेर गएपछि विगतका वर्ष झैं यसपाली पनि प्रहरी तल झरेको हो । गत वैशाखमा टिंकर गएको प्रहरी टोली आगामी बैशाखसम्म छाङरुमै बस्नेछ । 

सरकारले उच्च हिमाली भेगमा बस्नका लागि उचित व्यवस्था नगर्दा चिसोमा चौकी छोड्नु परेको प्रहरीको भनाइ छ । भारतले अतिक्रमण गरेको कालापानी नजिकका गाउँ छाङरु र टिंकरमा हिउँदमा भारी हिमपात हुने गरेको छ । सशस्त्रको गुल्म छाङरुमा बाह्रै महिना बस्न थालेपछि प्रहरीले त्यहाँबाट सेवा प्रदान गर्दै आएको छ ।