राष्ट्रिय

कैलालीमा एक करोड मूल्य बराबरको सुनचाँदी सहित तीन पक्राउ

- अर्जुन शाहधनगढी

कैलालीको भजनीबाट सशस्त्र प्रहरीले नगदसहित एक करोड बढी मूल्य बराबरका सुनचाँदी बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले भजनी क्षेत्रको भारतसँग सीमा जोडिएको मोहना नदीको कौवाखेडाबाट सुनचाँदी र नगदसहित तीन जनलाई पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल नम्बर–७ का डीआइजी दीपक अधिकारीका अनुसार सुर्खेत चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई नगद, सुनचाँदी सहित पक्राउ गरिएको हो । 

शनिबार साँझ सशस्त्र प्रहरी ३४ नम्बर गण अन्तर्गतको पगियापसार बीओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डीआइजी अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ८० लाख ७९ हजार ५३१ मूल्य बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० मूल्य बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी र ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैया, साउदी रियाल, चार थान मोबाइल सेट र चाँदीको लेप लगायका भाँडाकुँडा बरामद गरिएको डीआइजी अधिकारीले बताउनुभयो । ‘चोरीको हो या आफैले खरिद गरेर ल्याएको हो भन्ने खुलेको छैन,’ डीआइजी अधिकारीले भन्नुभयो ‘एक जना सुनको कारोबार गर्ने व्यवसायी पनि छन् ।’ 

उनीहरुले ल्याएको सुनचाँदी लगायत सामानको स्रोत नखुलेपछि बरामद गरिएको हो । बरामद गरिएको सामान भन्सार कार्यालय बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।