राष्ट्रिय

एमडीजीपी डा. नहुँदा सल्यान अस्पतालमा एक सातादेखि सल्यक्रिया सेवा रोकियो

- विप्लव महर्जन

जिल्ला अस्पताल सल्यानले नियमित दिदैं आएको सल्यक्रिया सेवा एक सातादेखि रोकिएको छ । एमडीजीपी डा. अभिषेक सिंहको ठाँउमा अर्को नआएकाले सल्यक्रिया सेवा रोकिएको हो । 

गत एक दशक देखि जटिल समस्या भएकाहरु र सुत्केरी हुन नसकेकालाई सल्यक्रिया गरेर जिल्लामै सहज सेवा उपलब्ध गराउँदै आएको जिल्ला अस्पताल सल्यानमा सेवा रोकिएपछि सल्यक्रियाका लागि आएकाहरु सुर्खेत, नेपालगन्ज, दा¨ जान बाध्य भएका छन् । 

न्युन शुल्कमा सल्यक्रिया सेवा लिदै आएकाहरु बाहिर जानु पर्दा आर्थिक मारमा परेका छन् । जटिल समस्या भएका गर्भवतीले ज्यानको जोखिम समेत उठाउनु परेको छ । जिल्ला अस्पतालले सल्यक्रिया सेवा दिन थालेपछि सल्यानका मात्र नभई रोल्पा, रुकुमबाट समेत जटिल समस्या भएकाहरु सेवा लिन आउने गरेका थिए । डाक्टरको अभावमा सेवा रोकिएपछि जिल्लाका मात्र नभई रुकुम, रोल्पाका सर्वसाधारण समेत प्रभावित भएका छन् ।