पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइनेः प्रधानमन्त्री ओली
-प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुभएको छ । झापाको गौरादहमा आज आयोजित ताजपूरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै विपन्न समुदायका नागरिकलाई उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताउनुभयो ।
आफ्नो समाजको कला, सस्कृति र परम्परालाई आधुनिक बनाउदै निरन्तरता दिन ताजपुरिया समुदायलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले उनीहरुका मागहरुमा आवश्यक सुनुवाइ गर्ने बताउनुभयो । सो क्रममा ताजपूरिया समाज कल्याण परिषद्का अध्यक्ष पूर्णलाल ताजपूरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्नुभएको थियो ।
कार्यक्रममा परम्परागत नाचको प्रस्तुत गरिएको थियो । नेपालमा ताजपुरिया समुदाय विशेषगरी झापा र मोरङमा बसोबास गर्दै आएका छन् । राष्ट्रिय जनगणना अनुसार ताजपुरियाहरुको जनसंख्या झन्डै २१ हजार छ ।