राष्ट्रिय

मधेशमा सेफ गल्स कार्यक्रमः४ वर्षमा २ मिलियन डलर खर्च गर्ने

- केएफएम डेस्क

मधेश प्रदेश सरकारले रौतहट र सर्लाहीका ८ वटा पालिकामा सेफ गल्स कार्यक्रम सञ्चालनमा ल्याएको छ । किशोरीको क्षमता अभिवृद्धि, लैङिक हिंसाको रोकथाम र यौनिकता शिक्षामा केन्द्रीत रहेको सेफ गल्स कार्यक्रम ४ वर्षसम्म सञ्चालन गरिनेछ । प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले आज जनकपुरमा कार्यक्रम आयोजना गरेर सेफ गल्स कार्यक्रमको शुभारम्भ गरेको छ । 

खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले मधेश प्रदेश सरकार महिला, किशोरी र वालिकालाई लक्षित गरेर थुप्रै कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । जयसवालले बेटी पढाउ, बेटी बचाउ, छोरी बिमालगायतका कार्यक्रम सञ्चालन रहेको र बेटी जिन्दावाद अभियान पनि सुरु गरेको बताउनुभयो । सेफ गल्स कार्यक्रमले मधेशका किशोरीहरुले भोगिरहेको समस्या हटाउने उहाँको भनाई छ । किशोरी र महिला शिक्षित, जागरुक र सुरक्षित नभएसम्म समाजको विकास सम्भव नरहेको पनि उहाँले बताउनुभयो । 

दातृ निकाय यूएनएफपीए, गुड नेवर्स इन्टरनेशन र कोइकाको सहयोगमा मधेश प्रदेश सरकारले सेफ गल्स कार्यक्रमका लागि किशोरीको क्षमता अभिबृद्धि, लैङिक हिंसाको रोकथाम र यौनिकता शिक्षामा ४ वर्षमा २ मिलियन डलर खर्च गर्नेछ । यूएनएफपीएका मधेश प्रदेश संयोजक नरेन्द्र मिश्रले किशोरी तथा युवतीका लागि सुरक्षित र सहयोगी वातावरण बनाउन सेफ गल्स कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।